Section 9
चिकित्सकको बोर्ड गठन गर्न सक्ने

(१) कार्यक्षमताको अभावको आरोपमा संवैधानिक पदाधिकारी उपर जाँचबुझ गर्दा निजबाट माग गरिएको स्पष्टीकरणमा सम्बन्धित संवैधानिक पदाधिकारीले सो आरोप इन्कार गरेमा जाँचबुझ समितिले सभामुखसँग परामर्श गरी निजको शारीरिक वा मानसिक अवस्थाको परीक्षण गर्नको लागि सम्बन्धित विषयको विशेषज्ञ रहेको तीन सदस्यीय चिकित्सकको बोर्ड (मेडिकल बोर्ड) गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको बोर्डले सम्बन्धित संवैधानिक पदाधिकारीको शारीरिक वा मानसिक अवस्थाको परीक्षण गरी निजको शारीरिक वा मानसिक अवस्थाको कारण र आधार सहितको प्रतिवेदन जाँचबुझ समितिले तोकेको म्यादभित्र सो समिति समक्ष पेश गर्नेछ ।
(३) उपदफा (१) बमोजिमको बोर्ड समक्ष आफनोे शारीरिक वा मानसिक अवस्थाको परीक्षण गराउन सम्बन्धित संवैधानिक पदाधिकारीले इन्कार गरेमा वा त्यस्तो बोर्डले परीक्षणको लागि तोकेको म्यादभित्र मनासिब कारण बिना निज अनुपस्थित भएमा सो बोर्डले सोही कुराको प्रतिवेदन जाँचबुझ समिति समक्ष दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि शारीरिक वा मानसिक अवस्थाको परीक्षण गराउन इन्कार गर्ने संवैधानिक पदाधिकारीमा अन्यथा प्रमाणित भएकोमा बाहेक शारीरिक वा मानसिक अवस्थाको कारणले कार्य क्षमताको अभाव रहेको अनुमान गरिनेछ र जाँचबुझ समितिले आफनोे प्रतिवेदनमा सो कुरालाई आधार लिनेछ ।